नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।

नेपाल पत्रकार महासंघमा आगामी नेतृत्व चयनका भएको मतदानको मत परिणाम आउने क्रम जारी छ। निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ।
रुकुम पूर्वबाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो। अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको सिलवालले जानकारी दिए। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चार ग्राममा अहिले काठमाडौं जिल्लाको मतगणना भइरहेको छ। पछिल्लो मत परिणामअनुसार विपुल पोख्रेल नेतृत्वको प्यानलले नै अग्रता लिइरहेको छ।
पोख्रेल नेतृत्वको प्यानल प्रतिद्वन्द्वी निर्मला शर्मा नेतृत्वको प्यानलभन्दा २ हजार बढी मतान्तरले अगाडि छ। पछिल्लो मत परिणामअनुसार पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए।
विद्युत् आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्लालगायत केही जिल्लाको मत परिणाम केन्द्रसम्म आइपुग्न कठिनाई भएको छ। मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुँदै गरेको हो।
