नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।

प्रधानमन्त्री केपी ओली सावधानी नअपनाएर फेरि लकडाउन गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेनावनी दिएका हुन् ।
कोभिड १९ को सावधानीपूर्वक सामना गर्नुको विकल्प नभएको भन्दै उनले सामाजिक जीवनलाई खलबलिन नदिनेगरी अनुशासित ढंगले आफ्ना क्रियाकलापलाई निरन्तरता दिनुपर्ने तर्फ सबै सचेत हुन आवश्यक रहेको बताए । सचेतता नअपनाए फेरि पनि लकडानमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै उनले पर्याप्त सावधान रहेर अनुशासित बन्न सबैलाई आग्रह गरे ।
‘लकडाउन गर्नै हुदैन भन्ने देशहरू दोहोर्याएर तेहर्याएर लकडाउनमा जाँदैछन् । हामीले पनि समयमै सचेतनता अपनाएनौँ भने, सावधानी अपनाएनौँ भने फेरि हामी लकडाउनमा पुग्दैनौँ भन्ने कुनै ग्यारेण्टी हुँदैन । हामी आफैँ घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा हुन्छौँ किनभने ज्यान खतरामा हुन्छ ।’ उनले अहिलेदेखि नै सावधानी नअपनाए कोरोनाको दोस्रो, तेस्रो लहर आउन सक्ने बताए । कोरोना संक्रमणबाट बच्नका लागि नियन्त्रित व्यवहार अपनाउनुपर्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य महासंघले ल्याएको आर्थिक रूपान्तरणसम्बन्धी प्रतिवद्धता सकारात्मक कदम भएको भन्दै उनले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याए । सन् २०३० सम्म दिगो विकासका सबै लक्ष्य हासिल गरि विकसित मुलुकको रूपमा उभ्याउने राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्य साथ सरकार अघि बढिरहेको भन्दै उनले त्यसमा बिलम्ब हुने गरि कसैले काम गर्न नहुनेतर्फ सचेत गराए । दिगो विकासका लक्ष्य सन् २०३० सम्म पूरा गर्नुपर्ने भएकाले तीब्र विकासमा जानैपर्ने बाध्यता सरकारलाई रहेको उनले स्पष्ट पारे ।
