नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।
कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ । ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपा नेताहरु बताउँछन् ।
ठाकुरनिकट नेताहरु प्रधानमन्त्रीसँगको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन् । ‘पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठाकुरबीच निकटता बढेको हो,’ ठाकुर निकट एक नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो । त्यतिखेर प्रधानमन्त्रीज्यूले सन्चो भए माग पुरा गर्ने आश्वासन गर्दै विश्वास गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि ठाकुरजी प्रधानमन्त्रप्रति आशावादी देखिनुभएको हो ।’
मनमोहन अस्पतालबाट डिस्चार्ज भएपछि पनि प्रधानमन्त्री र ठाकुरबीच बारम्बार भेटघाट र कुराकानी हुने गरेको ठाकुरनिकट स्रोतको भनाइ छ । यो भेटघाट कहिले एक्ला एक्लै र कहिले संयुक्त हुने गरेको छ । प्रधानमन्त्री र ठाकुरबीचको निकटता शुक्रबार नेपाली कांग्रेसले बोलाएका तीन दलको बैठकमा पनि देखियो । कांग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन् । आजको नागरिक दैनिकमा समाचार छ ।