नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।

द्वन्द्वकालिन मुद्दा गोरखाको फुजेलकान्डमा दोषी मानिएकाहरुलाई उच्च अदालतले सफाइ दिएको छ । जिल्ला अदालत चितवनले दोषी मानिएकाहरुलाई सफाइ दिने गरी गरेको फैसलालाई उच्च अदालतले सदर गरेको हो ।
उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीशहरू चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले फुजेल घटनामा दोषी भनिएका १२ जना अभियुक्तलाई सफाइ दिने चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हो । तत्कालीन माओवादी कार्यकर्ताले २४ जेठ २०६१ मा चितवनको बकुलहरमा गंगामाया अधिकारीका कान्छा छोरा कृष्णप्रसादलाई गोली हानी हत्या गरेका थिए । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गंगामाया र उनका पति नन्दप्रसादले प्रहरी कार्यालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूमा उजुरी दिएका थिए ।
कतैबाट पनि न्याय नपाएको भन्दै अधिकारी दम्पत्तिले २८ साउन २०७० देखि आमरण अनशन सुरु गरेका थिए । गंगामाया अहिले पनि १२ औं अनशनमा बसिरहेकी छिन् भने पति नन्दप्रसाद भने अनसानकै क्रममा ६ असोज २०७१ मा निधन भइसकेको छ । दोषीलाई कारवाहीको सजाय नभएसम्म गंगामायाले शव नबुझ्ने अडान राख्दै आएकी छिन् ।
