पृथ्वीमा ठोकिन खोज्ने उल्कापिण्डलाई आणविक बमले उडाउने तयारी गर्दै वैज्ञानिकहरू

पृथ्वीमा ठोकिनका लागि तयार रहेको एक उल्कापिण्डलाई पृथ्वीको अर्बिटबाट टाढा पुर्‍याउनका लागि अमेरिकी वैज्ञानिकहरूले तयारी गरेका छन् । वैज्ञानिकहरूले यसका लागि आणविक हतियार प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

अमेरिकाको लरेन्स लिभरमूर राष्ट्रिय प्रयोगशालाका वैज्ञानिकहरूले अमेरिकी वायुसेनाका प्रविधि विशेषज्ञहरूको एक टोलीसँग मिलेर काम गरिरहेका छन् । यस टोलीका एक सदस्य लांसिङ होरानका अनुसार, आणविक विस्फोटपछि हुने न्युट्रन रेडिएसनको सहायताले लक्ष्यप्राप्ति गर्न सकिन्छ ।



उल्कापिण्डलाई हटाउनका लागि दुईवटा तरिका अपनाउन सकिन्छ । पहिलो तरिकाअनुसार ऊर्जाको जोरदार आक्रमण गरी उल्कापिण्डलाई साना साना टुक्रा पारिदिने । दोस्रो तरिकाचाहिँ ऊर्जा उपयोग गरेर उल्कापिण्डको दिशा परिवर्तन गरिदिने ।

होरानका अनुसार, उल्कापिण्ड निकै सानो रहेछ भने मात्र त्यसलाई ध्वस्त पार्ने विकल्प प्रयोग गरिनेछ । अमेरिकी अन्तरिक्ष नियोग नासाका अनुसार, आगामी १०० वर्षमा २२ वठा उल्कापिण्ड पृथ्वीसँग ठोकिने सम्भावना छ । तीव्र गतिमा अन्तरिक्षबाट आएको कुनै वस्तु पृथ्वीभन्दा साढे ४६ लाख माइल पर आएमा त्यो जोखिम हो । नासाको सेन्ट्री सिस्टमले यस्ता जोखिमलाई नजर राख्ने गरेको छ ।

सम्बन्धित समाचार