बुढानिलकण्ठमा देउवा, भट्टराई र यादवबीच छलफल, ठाकुर पक्ष किन सहभागी भएन ?

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। सभापति देउवालाई भेट्न अध्यक्षद्वय यादव र भट्टराई मंगलबार अपरान्ह सवा ४ बजे बुढानिलकण्ठ पुगेको जसपाका एक नेताले बताए।

‘कांग्रेस सभापति देउवासँग छलफलका लागि सवा ४ बजे अध्यक्षद्वय यादव र भट्टराई बुढानिलकण्ठ जानु भएको हो’, ती नेताले  भने’, अहिले उहाँहरुबीच छलफल भइरहेको छ।’ उनले छलफल नयाँ गठबन्धनका विषयमा केन्द्रित रहेको बताए।



केही दिनअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ओली सरकारको विकल्पमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो। त्यसपछि शुक्रबार सभापति देउवाले नयाँ सरकार गठनका विषयमा छलफल गर्न माओवादी केन्द्र र जसपाका नेताहरुलाई बुढानिलकण्ठ बोलाएका थिए। छलफलमा माओवादी सकारात्मक रहे पनि जसपाले केही दिन समय मागेको थियो।

नयाँ सरकार गठनका विषयमा जसपामा दुई धार देखिएको छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने यादव र भट्टराई ओली इतरको गठबन्धन बनाउनु पर्ने पक्षमा छन्। यही कारण जसपाले सत्ता गठबन्धनबारे औपचारिक निर्णय गरेको छैन्।

जसपाको निर्णय नआएका कारण नयाँ सत्ता समीकरणले मूर्तता पाउन सकेको छैन। आजको छलफलमा पनि जसपाको ठाकुर पक्ष भने सहभागी छैन।

सम्बन्धित समाचार