देउवा-प्रचण्डबीचको गोप्य सहमतिले ओलीलाई तनाव

सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि केन्द्रदेखि प्रदेशसम्मको राजनीतिमा अनेक खालका तरंग आइरहेका छन् । केन्द्रमा केपी ओलीको सरकार हटाएर विकल्प दिन दलहरूबीच सहमति हुन सकेको छैन । तर प्रदेशमा भने नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच सहकार्य हुने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गरेको खुलेको छ। मंगलबार देउवा र प्रचण्डबीच सहकार्यको सम्झौता भएको बताइएको छ । सहमति अनुसार तत्काल लुम्बिनी र गण्डकी प्रदेशमा एमाले ओली पक्षको सरकार ढालेर नयाँ सरकार बनाउने तयारी छ । देउवा र प्रचण्डबीचको यो सहकार्य केन्द्रदेखि निर्वाचनसम्म कायम होला भन्ने तनाव प्रधानमन्त्री केपी ओलीमा परेको देखिन्छ ।



गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउने र माओवादी केन्द्रले समर्थन गर्ने, लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले सरकार बनाउने कांग्रेसले समर्थन गर्ने सहमति भएको देउवानिकट स्रोतले बतायो । ‘मंगलबार प्रचण्ड र देउवाबीच यो सहमति भैसकेको छ’ स्रोतले भन्यो ।

गण्डकीमा हाल मुख्यमन्त्रीसहित ७ मन्त्रालयमध्ये कांग्रेस र माओवादीले ३-३ मन्त्रालय लिने र जसपालाई १ मन्त्रालय दिने सहमति जुटेको बताइएको छ । विहीबार बिहान ४ दलको बैठक बस्ने र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ। सहमतिअनुसार गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नेछन्। नेपाली पूर्वी नवपरासीको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

गण्डकी प्रदेशसभामा ६० सदस्यमध्ये नेकपा एमालेसँग २७ सिट छ। माओवादी केन्द्रका १२ सांसद छन्। माओवादीका मन्त्री फिर्ता भएपनि अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन। कांग्रेससँग १५ र जसपासँग २ सांसद छन् । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले कसलाई मुख्यमन्त्री बनाउने भन्ने छलफल गरिरहेकाले नाम बताइएको छैन ।

सम्बन्धित समाचार