नवकान्तिपुर संवाददाता
काठमाडौं, २ वैशाख ।

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ। महाशाखाले आज बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भइरहेको जनाएको छ ।
यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ, भने देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ । देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
