नवकान्तिपुर संवाददाता
काठमाडौं, २ वैशाख ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काठमाडौं आएका छन् । उनी प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न काठमाडौं आएको बताइन्छ । उनले प्रधानमन्त्री ओलीसँगै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गर्ने उनको सचिवालयले जानकारी दियो ।
विहीबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का २८ सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। जनमोर्चाले पनि त्यसमा सहमति जनाउँने भएको छ। अविश्वास प्रस्ताव दर्ता हुने भएपछि उनले बुधबार राति नै संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गरेका थिए। उनको सिफारिशमा प्रदेश प्रमुखले संसद् अधिवेशन अन्त्य गरेका छन्। कांग्रेसलगायतका विपक्षी दलले विशेष अधिवेशनको माग गरेका छन्।
मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउँन तीन सांसद् आवश्यक रहेको छ। गण्डकी प्रदेशमा ६० सांसद छन्। सरकार निर्माण गर्न ३१ सांसद आवश्यक पर्छ। अहिले एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्टिय जनमोर्चाका तीन र राप्रपाका दुई सांसद छन्। गुरुङविरुद्ध कांग्रेस, माओवादी, जनमोर्चाका र जसपा एक भएका छन् ।
