सरकार र जसपाबीचको बैठक सम्पन्न, सरकारमा सहभागीताबारे प्रधानमन्त्रीलाई दियो यस्तो जवाफ

नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टीले गठन गरेको कार्यदलबीच छलफल भएको छ । छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ भएको छ । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको थियो ।

गृहमन्त्रालयले आफ्नो काम अगाडि बढाएको छ । जसपा नेपालले बुझाएको फाइलको बारेमा गृहमन्त्रालयले अध्ययन थालेको र चाँडै नै जिल्ला जिल्लामा सर्कुलर पठाएर बन्दी रिहाइको प्रकृया थाल्ने सरकारको तर्फबाट गठन भएको कार्यदलले भनेको जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।



जसपाको तर्फबाट गठन भएको कार्यदलका सदस्य समेत रहेका नेता कर्णले सरकारले मुद्दा फिर्ता र बन्दी रिहाइको प्रकृया अगाडि बढाएको छ, आफूहरुले चाँडै गर्न आग्रह गरेको बताए । सरकारले प्रकृया सुरु गरेको कारण आफूहरु सकारात्मक रहेको तर काम नभएसम्म ढुक्क हुने अवस्था नरहेको बताए ।

सरकारलाई समर्थन गर्न प्रधानमन्त्री ओलीले गरेको आग्रहको बारेमा जिज्ञासा राख्दा उनले प्रधानमन्त्री ओलीबाट त्यस्तो आग्रह सधै आउने गरेको बताए । सरकारलाई समर्थन गर्ने निर्णय एउटा व्यक्तिले लिन नसक्ने भन्दै यसका लागि पार्टीमा छलफल हुन बाँकी रहेको कुरा आफूहरुले प्रधानमन्त्री ओलीलाई बताएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार