नवकान्तिपुर संवाददाता
काठमाडौं, २ वैशाख ।

प्रधानमन्त्री केपी अोली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच विहीबार भेटवार्ता भएको छ। अध्यक्ष ठाकुर प्रधानमन्त्री अोलीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा ओलीले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई समर्थन गर्न आग्रह गरेको बताइन्छ ।
साथै ओलीले लुम्बिनी प्रदेशलगायत सबै प्रदेश र केन्द्रमा पनि सत्ता सहकार्यको प्रस्ताव गरेको बताइन्छ । ठाकुरले गण्डकी र लुम्बिनी प्रदेशबारे पार्टीमा थप छलफल गर्ने बताएका थिए । यी दुबै प्रदेशमा एमालेका मुख्यमन्त्रीको पद धरापमा परेको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला जानकार डा राजन भट्टराईले भेटवार्ताका क्रममा अध्यक्ष ठाकुरले जसपाका मागबारे चासो व्यक्त गरेको बताए । जसपाका माग पूरा गर्न सरकार तयार रहेको भन्दै ओलीले कार्यदललाई सहमतिपत्रमा हस्ताक्षर गर्न आग्रह गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यदलले जसपाले उठाउँदै आएका सांसद रेशम चौधरी लगायतको रिहाई, संविधान संशोधन लगायतका विषयमा सहमति जुटाइसकेको छ । कार्यदलमा एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्।
