नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ वैशाख ।
ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । विहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो । मुम्बईस्थित वान्ग्खडे स्टेडियममा दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको जितमा डेभिड मिलरले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस मोरिसले अविजित ३६ रन जोड्दा जयदेव उनाकडले अविजित ११ रन बनाए । राहुल टेवाटिया १९ रनमा आउट भए । दिल्लीका अभेस खानले ३ विकेट लिए । क्रिस वोक्स र कागिसो राबडाले २-२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै टम कुरानले २१ रन जोड्दा ललित यादवले २० रन बनाए । क्रिस वोक्सले अविजित १५ रन बनाए । राजस्थानका जयदेव उनाक्डले ३ विकेट लिए । मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
जितसँगै राजस्थानले २ खेलमा २ अंक जोडेको छ । राजस्थान लिगको पाँचौ स्थानमा रहेको छ । दिल्ली २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दिल्लीको यो पहिलो हार हो ।