नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ वैशाख ।

पार्टी ह्वीप विपरित मतदान गरेर कर्णाली सरकार जोगाउने चार जना सांसदलाई नेकपा एमालेले कारबाही गर्ने तयारी गरेको छ । तर, ह्वीप उल्लंघन गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेशसभाका सांसद अमरबहादुर थापाले कारबाहीका लागि तयार रहेको बताए । ह्वीप उल्लंघन गर्नेलाई कारबाही हुने जानकारी भएरै उल्लंघन गरेको उनले बताए । उनले भने, ‘कारबाही गर्ने होला, कारबाहीको कुनै अर्थ छैन ।’
केन्द्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत कारबाही गरिएको भन्दै उनले भने, ‘पहिलो कुरा माधव नेपाललाई कारबाही गरेपछि हामीलाई कारबाही गरेर के अर्थ भयो र रु कारबाही गरेपनि, जे गरेपनि हामीलाई केही फरक पर्नेवाला छैन ।’ सांसदको पदभन्दा महत्वपूर्ण संगठन रहेको भन्दै उनले भने, ‘सबैभन्दा महत्वपूर्ण भनेको संगठन हो । संगठनलाई अघि बढाएर जाने हो ।’
अब बन्ने सरकारमा समेत सहभागी हुने उनले बताए । उनले भने, ‘सरकारमा जाने नै हो । तर कुन मितिमा जाने भनेर अहिले नै निर्णय भइसकेको छैन । ’ माओवादी परित्याग गरेर एमालेमा नेताहरू गएको भन्दै उनले प्रश्न गरे, ‘प्रचण्डका मान्छे केपी ओलीकोमा जान हुने हामी जान किन नहुने ?’
यसैबीच, ह्वीप उल्लंघन गरेका सांसदलाई के गर्ने भन्ने निर्णय गर्न एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक बसिरहेको छ । बैठकपछि आवश्यक निर्णय लिने जनाइएको छ । एमाले सांसदले फ्लोर क्रस गरेपछि अल्पमतमा परेको कर्णाली सरकार फेरि बहुमतमा पुगेको छ ।
