गण्डकीमा पनि फ्लोर क्रस गर्ने माधव नेपाल पक्षको तयारी

गण्डकी प्रदेशमा कर्णालीको घटना दोहोरिने सम्भावना बढेको छ । माधव नेपाल पक्षले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने संकेत दिएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । उनीहरुले बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । संसदमा ६० सिट रहेको गण्डकीमा स्वतन्त्र सांसद दीपक मनाङेसहित एमाले एक्लैको २८ सिट रहेको छ । तर, माधव नेपाल पक्षका सांसदले साथ नदिने सम्भावना बढेकाले मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार संकटमा परेको हो ।



गण्डकीमा माधव नेपाल पक्षका एक जना सांसद रहेका छन् । त्यस्तै स्वतन्त्र सांसद दीपक मनाङले पनि मुख्यमन्त्री गुरुङको पक्षमा मतदान नगर्ने बताइसकेका छन् । उनले नयाँ सरकार गठनमा आफूले नेतृत्व लिने मिडियालाई बताउँदै आएका छन् । गुरुङलाई नेपाल पक्षका सांसद इन्द्रलाल सापकोटा र मनाङेले फ्लोर क्रस गर्ने सम्भावना रहेको स्रोतले बतायो ।

‘कर्णालीले थप संसय पैदा गराइदियो । यो क्रम गण्डकीमा पनि दोहोरिनेमा हामी सशंकित छौं । किनकी माधव नेपालमाथि गरेको कारबाही प्रदेशबाट प्रत्यक्ष रुपमा देखिन थालिसकेको छ’, प्रधानमन्त्री केपी शर्मा अ‍ोली निकट एक सांसदले भने ।

गुरुङ अहिले यसै पनि अल्पमतमा छन् । उनले संसदमा ३० जना सांसदको विश्वासको मत लिनुपर्नेछ । गुरुङलाई नेपाल पक्षले सर्मथन गरेको खण्डमा थप तीन मत आवश्यक पर्दछ । उक्त मत राष्ट्रिय जनमोर्चासँग मात्रै छ । प्रधानमन्त्री अ‍ोलीले नेपाललाई कारबाही गरेपछि आफूहरुले बाध्यतावश यस्तो निर्णय गर्नूपरेको नेपाल पक्षले बताउँदै आएको छ ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गर्ने सांसद कुर्मराज शाहीले प्रधानमन्त्री अ‍ोलीले केन्द्रबाट सुरुवात गरेकाले आफूहरुले पनि कर्णालीबाट सुरु गरेको र यो अन्य प्रदेशमा पनि लागू हुने बताए ।

‘कर्णाली प्रदेशबाट सुरुवात गरिदिएका हौं । एकदिन अवस्य कारबाही हुन्थ्यौं । माधव नेपालमाथि कारबाही भएकाले हाम्रो औचित्य थिएन’, उनले भने । गण्डकीमा एमालेको २८, कांग्रेसको १५, माअ‍ोवादी केन्द्रको १२, राष्ट्रिय जनमोर्चाको ३ र जनता समाजवादी पार्टीका दुई जना सांसद रहेका छन् ।

 

सम्बन्धित समाचार