नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ वैशाख ।

प्रधानमन्त्री केपी ओलीको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रबाहेक प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु उपस्थित छन् ।
संसदको हिउँदे अधिवेशन, जनता समाजवादी पार्टी (जसपा)सँग चलिरहेको वार्ता तथा कोरोना संकट लगायतका विषयमा प्रधानमन्त्री ओलीले दलहरूसँग छलफल गरिरहेका छन् । सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनमा दलहरूको सहमति जुटाउने प्रयास गर्ने स्रोतले बतायो ।
सर्वदलीय बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेता सर्वदलीय बैठकमा सहभागी भएका छैनन् ।
सर्वदलीय बैठकमा कुरा राखेर सरकारले संसदको हिउँदे अधिवेशन टुंग्याउने तयारी गरेको छ । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलो पटक सर्वदलीय बैठक बसेको हो ।

