नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ वैशाख ।

प्रधानमन्त्री केपी ओलीले शनिबार डाकेको सर्वदलीय बैठकमा कोरोनाको दोस्रो लहर नियन्त्रण, सङ्घ, प्रदेश र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन र करिब दुई वर्षदेखि सदनमा थन्किएको एमसीसीका विषयमा गम्भीर छलफलपछि केही महत्वपूर्ण विषयमा सहमति जुटेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ७ गतेअघि नै कार्यव्यवस्था समितिको बैठक राखेर एमसीसीलगायत प्रस्ताव सदनमा ल्याउन सहमति जुटेको जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सर्वदलीय बैठकले सरकारको प्रस्ताव स्वेच्छाचारी ढङ्गले सभामुखले रोक्न नमिल्ने निष्कर्ष निकालेको छ ।
दुई वर्षदेखि सभामुखले एमसीसी रोकेर राखेकाले वैशाख ७ गतेअघि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउने विषयमा दलहरूबीच सहमति जुटेको हो । बैठकपछि परराष्ट्रमन्त्री तथा नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने, ‘जे निर्णय गर्ने हो, सदनले गर्छ । सभामुखले सरकारका बिजनेस लामो समय रोकेर राख्न मिल्दैन ।’
बैठकमा दलहरूबीच स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको उपनिर्वाचन संविधान र कानुनबमोजिम छिट्टै गर्नुपर्ने विषयमा समेत सहमति जुटेको छ । भदौमा प्रस्ताव गरिएको नेपाली कांग्रेसको महाधिवेशन प्रभावित नहुने गरी निर्वाचन कार्ययोजना तयार गर्न बैठकमा कांग्रेसले माग गरेको थियो । प्रधानमन्त्री ओलीले सबैको परामर्शअनुसार उपनिर्वाचनको कार्यतालिका बनाइने धारणा बैठकमा राखेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
प्रवक्ता ज्ञवालीले बैठकमा संसद्मा अड्किरहेका बिजनेस र पछिल्ला राजनीतिक विषयका सन्दर्भमा छलफल भएको जानकारी दिए । उनका अनुसार कोरोनाको बढ्दो जोखिम न्यूनीकरण, खोप सुनिश्चितता, आवश्यकताअनुसार विद्यालय बन्द, जात्रालगायत भीडभाडलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दलहरूले प्रस्तुत गरेका थिए ।
बैठकमा संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन आयोगले तोकेको समयमा निर्वाचनमा सहभागी हुन सबै दलले सहमति दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनले सभामुखले तजबिजी अधिकार प्रयोग गरी लामो समयसम्म सरकारले दिएको बिजनेस अड्काउन नमिल्ने बताए । उनले भने, ‘करिब दुई वर्षदेखि एमसीसी संसद्मा अड्किएको छ । पास गर्ने कि नगर्ने त्यो संसद्को अधिकारको कुरा हो तर सभामुखले तजबिजी अधिकार प्रयोग गरी, जुन अधिकार उहाँसँग छैन लामो समयसम्म रोक्न मिल्दैन भन्ने साझा धारणा रह्यो ।’
