डा रवीन्द्र पाण्डे
काठमाडौं, ५ वैशाख ।
हाल देखिएको कोरोना भाइरसको संक्रमण एक अर्कामा निकै छिटो सर्ने खालको रहेको छ । यसअघि देखिएको कोरोनाभाइरस एक जनाबाट चार पाँच जनालाई सार्ने किसिमको थियो तर अहिले देखिएको नयाँ प्रजातिको भाइरसले ३० भन्दा बढी व्यक्तिलाई सारेको अनुमान गरिएको छ । जसका कारण मृत्युदर स्वतः बढ्छ ।
ब्राजिल, बेलायत, भारत लगायतका मुलुकहरुमा पनि दिनदिनै संक्रमतिको संख्या बृद्धि भइरहेको छ । हामीकहाँ समुदायमा परीक्षण नै गरिएको छैन । समुदायमा नमूना परीक्षण आवश्यक भै सकेको छ । क्वारेन्टिन र आइसोलेसनको अवस्था पनि नाजुक नै छ । उचित व्यवस्थापन भएको छैन । खाडी मुलुकमा काम गर्न जाने भारतीय नागरिकहरु नेपालको बाटो भएर जाने क्रमले झनै जोखिम बढाएको छ ।
समुदायमा परीक्षण गर्ने हो भने काठमाडौंमा मात्र हाल १० हजार भन्दा बढी संक्रमित फेला पर्न सक्छन् । विज्ञ साथीहरु त यो संख्या २० हजार भन्दा बढी होला भन्ने अनुमान गर्नुहुन्छ । यस्तो अवस्थामा विद्यालयहरु कसरी सञ्चालन हुन्छन् ? विद्यार्थीको स्वास्थ्य हेर्ने कि शिक्षा ? पहिलो प्राथामिकता स्वास्थ्य नै हो । घातक किसिमको यो संक्रमणको लक्षण नदेखिने तर कोभिड निमोनिया भएर आइसियूमा पठाउनु पर्ने अवस्था देखिसकेको छ ।
विद्यार्थीलाई मापदण्ड पालना गराउन निकै कठिन हुन्छ । माक्सको सही प्रयोग हुँदैन, शौचालय, खाजाघर विद्यालय परिसर सबैतिरबाट जोखिम हुन्छ । यही दरमा संक्रमण बढे जेठ असारमा नयाँ संक्रमितहरु १५ हजार भन्दा माथि पुग्न सक्छन् भने दशैंसम्ममा ६ लाख संक्रमित पुग्ने आँकलन गरिएको छ ।
विद्यालय सञ्चालनका बारेमा प्याब्सन र एन प्याब्सनको प्रभाव र दवाव शिक्षा मन्त्रालयमा परेको स्पष्ट रुपमा देख्न सकिन्छ । काठमाडौं महानगरपालिकाको निर्देशन झनै गैर–जिम्मेवारपूर्ण छ । एक हप्ता विद्यालय बन्द गर्नुको कुनै अर्थ नै छैन । तीन साता त बन्द नै गर्नुपर्छ । अझ संक्रमण देखिए बन्द गर्नु भन्ने जस्तो गैर–जिम्मेवार निर्देशन दिन मिल्छ ? विद्यालयमा संक्रमण फैलिए घर, समुदायको अवस्था कस्तो होला ? कसैले पनि बालबालिकाको स्वास्थ्यका विषयमा जोखिम नमोलौं ।
यस्तो अवस्थामा म मेरा बच्चाहरुलाई विद्यालय पठाउन सक्दिनँ । अभिभावकहरुको पनि दायित्व छ, वैकल्पिक माध्यमबाट पठनपाठन गराउँ । विद्यालयले दिएको विषयवस्तु अनुसार बालबालिकाले पढेका छन् वा छैनन्, अनुगमन गरौं । सबै एकजुट भएर बिपद्को सामना गरौं । तत्काल विद्यालय नखोलौं जसले गर्दा बालबालिका मार्फत घरघरमा संक्रमण फैलिँदैन ।
बिगतको भन्दा कठिन अवस्था आउन सक्ने भएका कारण विद्यालयहरुले पनि बैकल्पिक शिक्षाको लागि लामो योजना बनाउन आवश्यक छ । हालसम्म बालबालिकाको लागि खोप तयार भएको छैन । हाल प्रयोग भै रहेका खोपहरु १८ बर्ष भन्दा माथिका लागि हो । बालबालिकाको लागि बेलायत र अमेरिकामा खोपहरु परीक्षण भै रहेका छन् तर ती खोपहरु पनि व्यवहारिक रुपमा प्रयोगमा आउन एक वर्ष भन्दा बढी समय लाग्छ ।
मोडर्ना र अस्ट्राजेनिकाले परीक्षण गरे पनि बीचमा केही समस्या आएपछि त्यसलाई रोकेको छ । बरु अभिभावकहरुले हाल उपलब्ध खोपहरु लगाऔं । अभिभावकहरुले खोप लगाउँदा पनि घर धेरै नै सुरक्षित हुन्छ । हाल नेपालमा प्रयोग भै रहेका खोपहरु कुनै खराब लक्षण देखिएको छैन, ढुक्क भएर लगाउँदा हुन्छ । त्यसैले स्वास्थ्यमा खेलबाड नगरौं, सर्तक रहौँ, सचेत बनौं ।
(काठमाडौंको स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलका अभिभावकहरुको भर्चुअल छलफलमा जनस्वास्थ्यविज्ञ डा.पाण्डेले व्यक्त गर्नु भएको विचार)