विद्यालय बन्दबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइयो

मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार मुख्यतः बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुनेछ ।

शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो । तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसीको सर्त छ । सो प्रस्तावबारे आजको बैठकमा छलफल हुनेछ ।



चौतर्फीरुपमा विद्यालय बन्द गर्न दवाव बढेको बेला आजको बैठकले के निर्णय गर्छ भन्नेमा चासो बढेको छ । ती मन्त्रीका अनुसार विद्यालय तत्काल बन्द गर्दा नै उचित हुने आफूलाई लागेपनि बैठकले के निर्णय गर्छ भन्नेमा निश्चित नरहेको बताए । स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि केही समय विद्यालय बन्द गर्ने तयारीमा छन् ।

बैठकबाट स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी हुने पनि बुझिएको छ । पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ ।

सम्बन्धित समाचार