प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच भेटवार्ता, सरकारलाई समर्थन गर्ने वातावरण बनेको दाबी

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा २ घण्टा छलफल गरेका छन्। लुम्बिनी प्रदेश सरकारमा जसपाका चार नेता सहभागी भएको भोलिपल्ट अर्थात् आज जसपाका अध्यक्ष महन्थले चार शीर्षनेतासहित प्रधानमन्त्री ओलीसँग लामो छलफल गरेका हुन्।

छलफलमा ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए। प्रधानमन्त्रीसँगको भेटबारे सांसद कर्णले भने, ‘मधेश र थरुहट आन्दोलनका क्रममा जसपा नेतामाथि लागेको मुद्दा फिर्ता लिनेबारे छलफल भयो। प्रधानमन्त्रीले २-४ दिनभित्रै सबै काम हुन्छ भन्नुभयो।’



मधेशका माग पूरा हुने देखिएकोले ओली सरकारलाई समर्थन गरेर जान सकिने उनले बताए। ठाकुरका स्वकीय सचिव सत्येन्द्र यादवले जसपाको माग सम्बोधनकै विषयमा कुरा भएको जानकारी दिए। उनले भने, ‘केही मागहरु अन्तिम चरणमा रहेकोले त्यसको बारेमा थप छलफल भएको हो।’

लुम्बिनी प्रदेशमा जसपाका चार सांसद सरकारमा सहभागी भएपछि भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये ५ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए।

सम्बन्धित समाचार