नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ वैशाख ।

एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीचको भेटवार्ता सकिएको छ । राजधानीको एक होटलमा ओली र नेपालबीच दुई घण्टा वार्ता भएको थियो । वार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग भने, ‘म केही बोल्दिनँ ।’ यद्दयपी ओली र नेपालबीच वार्ताका माध्यमबाटै विवाद समाधान गर्ने सहमति भएको स्रोतकोे दाबी छ ।
नेता नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न अपिल जारी गर्ने निर्णय गरेसँगै दुई नेताबीच छलफल भएको हो । यसअघि नेपाल समूहका नेता योगेश भट्टराइसँग वालुवाटारमा ओलीले करिब दुई घण्टा छलफल गरेका थिए । भेटमा पार्टी एकताको निम्ति शीर्ष तहमा संवाद थाल्न भट्टराईले सुझाव दिएका थिए ।
२३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्रको विवाद चर्किएको छ । एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले २८ फागुनमा माओवादी केन्द्र छोडेर आएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेका थिए । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
तर, नेपाल समूहले भने सर्वोच्चको फैसलासँगै पार्टी २ जेठ २०७५ कै अवस्थामा फर्किएको र त्यही अवस्थाबाट अघि बढ्नु पर्ने माग राख्दै आएको छ । विवाद चिर्किंदै गएपछि अध्यक्ष ओलीले माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुका साथै सोमबार मात्रै नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधका छन् ।
