नवकान्तिपुर संवाददाता
काठमाडौं, १० वैशाख ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमसँग डिनर मिटिङ गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार ओलीले गौतमसँग डिनर मिटिङ गरेका हुन्। ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए।
चार जनाले डिनर गरेको फोटो प्रमुख सचेतक भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
भेटपछि गौतमले भने-‘प्रधानमन्त्रीले पार्टी काममा फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भन्ने जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए । ‘


