एमाले बैठक बस्दै, माधव समूहमाथि थप कारबाहीको तयारी

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा माधव नेपाल समूहका ३२ जना सांसदलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिने बताइएको छ।

अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए । ६ गतेको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माधव गुटलाई पार्टीले सोधेको स्पष्टीकरण र सो गुटले दिएको जवाफबारे पनि बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जनाकारी दिए।



माधवकुमार नेपाल,झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले विहीबार स्पष्टीकरणको जवाफ पठाइसकेको भट्टराईले बताए। तीन दिनको समयसीमा दिएर सोधिएको स्पष्टीकरणमा अन्यले आज बुझाउने अन्तिम म्याद छ।

यो बाहेक पार्टीको दशौं महाधिवेशनको तयारीका लागि पनि छलफल हुने भट्टराईले बताए। यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले आगामी मंसिरमा गर्ने भनिएको पार्टी महाधिवेशनको कार्ययोजना एमालेले तयार पारिसकेको छ।

जसअनुसार जेठ मसान्तभित्र सबै प्रदेशदेखि स्थानीय तहसम्मका कमिटीलाई पूर्णता दिने, असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा तथा पालिका अधिवेशन र जिल्ला अधिवेशन गरिसक्ने एमालेको योजना छ।

सम्बन्धित समाचार