सीसीएमसी बैठकले गर्यो यस्तो निर्णय

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले कोरोना भाइरसको बढ्दो संक्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ । शनिबार बालुवाटारमा भएको छलफलमा सीसीएमसीका अधिकारीहरुले ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक गर्न नसके अवस्था भयावह हुनुसक्ने बताएका छन् । सोमबार जारी भएको आदेश पूर्ण पालना नभएको भन्दै सीसीएमसीले अनावश्यक हिडडूलमा रोक लगाउनुपर्ने प्रस्ताव गरेको छ ।

बैठकमा सहभागी एकमन्त्रीले भने, ‘यसरी नै संक्रमण बढ्ने हो भने लकडाउनको अवस्था पनि आउनसक्छ ।’ परीक्षाका नाममा विद्यालय तथा कलेजहरुमा भिडभाड भएको भन्दै त्यसमा पनि कडाई गर्नुपर्ने सीसीसएमसीको प्रस्ताव छ ।



अन्तराष्ट्रिय सीमा नाका बन्द गर्न नसकिने तर आवागमनलाई व्यवस्थित गर्नुपर्ने सीसीएमसीको जोड छ । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर आउने दिने, विदेशी नागरिकहरुको हकमा भने तत्कालका लागि स्थलमार्गबाट आउन रोक्न सकिने सीसीएमसीका अधिकारीहरुले बताएका छन् । हवाईमार्गबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्ने सीसीएमसीको प्रस्ताव छ ।

सीसीएमसीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको आदेश कडाइका साथ पालना गर्नुका साथै चेतनामुलक सन्देशहरु प्रवाह गर्नुपर्नेमा जोड दिए । होल्डि सेन्टरहरु सेनाले बनाउने र त्यो यसअघि भन्दा व्यवस्थित हुनुपर्नेमा उनले जोड दिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले यो छलफलका आधारमा सीसीएमसीबाट प्रस्ताव तयार परेर मन्त्रिपरिषदमा ल्याउन समेत निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार