काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओको बैठक आज, निषेधाज्ञा लगाउने तयारी

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूले बैठक गर्न लागेका हुन्।

कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्। उपत्यकाका तीनवटै जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेकोले निषेधाज्ञा लगाउने निर्णय हुनसक्ने देखिएको छ ।



यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन्। काठमाडौंमा आइतबार एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले आज तीनै जिल्लाका सिडिओको बैठक बस्ने बताए।

कोरोना जोखिम र आवश्यक पर्ने कदमबारे छलफल गरी निर्णयमा पुगिने उनले बताए। यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ। कोरोना जोखिम रहेकोले भिडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको छ।

सम्बन्धित समाचार