नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ वैशाख ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागेको छ । आज बिहान ६ बजेबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । मन्त्रिपरिषद्ले १५ दिन भनेपनि तत्काललाई ७ दिने सूचना मात्रै जारी भएको हो।
कोरोना संक्रमणको दर बढेपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आजबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।
संघीय सरकारले १५ दिन निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा आवश्यकता अनुसार स्थानीय प्रशासनले निर्णय लिनसक्ने सहमति भएको थियो ।
निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न पाइने छैन ।
अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल भने सञ्चालन गर्न पाइने छ । अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । यस्तै डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् । विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ ।
ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।
