मन्त्री बनेपछि दीपक मनाङेले दिए यस्तो प्रतिक्रिया

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ । यसअघि ७ मन्त्रालय रहेकोमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने गरी स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको छ ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री मनाङेलाई विहीवार साँझ शपथ गराएका छन् । मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्री नरदेवी पुनले सम्हालेको मन्त्रालय फुटाउने निर्णय अनुसार मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी प्रदेश सरकारले जिम्मा दिएको छ ।



मनाङबाट नेकपा एमालेको समर्थनमा चुनाव जितेका मनाङेले मंगलवारको प्रदेशसभा बैठकमा स्वतन्त्र सांसदको सिट माग गरेका थिए । बुधवार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची भए पनि उनी बैठकमा अनुपस्थित भएका थिए ।

कोरोनाको जोखिम बढेका बेला आवश्यक स्वास्थ्य मापदण्ड पालना नगराई २५ जनाभन्दा धेरै मानिसको सहभागितामा सानो कोठामा भीडभाड हुने गरी शपथ गराइएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको समेत सहभागिता रहेको थियो । मुख्यमन्त्री गुरुङले आफूविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेश भएको अवस्थामै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

६० सांसद रहेको प्रदेश सभामा एमालेका २७ सांसद छन् । उनलाई सरकार बचाउन ३ जना सांसदको आवश्यकता पर्नेछ । अन्य दललाई भने अविश्वासको प्रस्ताव पारित गर्न ३१ मतको आवश्यक पर्छ । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेका छन् ।

माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएसँगै हाल भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुक्ति भएको छैन । खेलकुद र खेलाडीको विकासको लागि खेलकुद बोर्ड गठन गर्ने मन्त्री गुरुङले बताए । मन्त्री पदमा नियुक्त भएसँगै उनले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेशको खेलकुद र खेलाडीको हकहितको लागि आफूले सरोकारवाला पक्षसँग छलफल गरी कार्ययोजना बनाएर अघि बढ्ने बताए ।

‘म मन्त्री पदमा १०–१२ दिनको लागि मात्र पनि हुनसक्छु तर केही दिनमै देखिने गरी केही योजना ल्याउने छु,’ उनले भने ।

आफू निर्वाचित हुँदा एमालेले सहयोग गरेकाले एमालेलाई आफूले गुन तिर्नुपर्ने बताएका मन्त्री गुरुङले आफू अझै कुनै पार्टीमा नलागी स्वतन्त्र सांसद नै भएको दाबी गरे । सदनमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा कुन पक्षमा मतदान गर्ने भनेर सोधिएको प्रश्नमा मन्त्री मनाङेले राजनीतिमा केही भन्न नसकिने प्रतिक्रिया दिए ।

सम्बन्धित समाचार