नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ वैशाख ।

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जनाएको छ । आज बिहान देशको प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ र प्रदेश १ का केहि भूभागहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
यस्तै, आज दिउँसो देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र प्रदेश २, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।
देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । त्यस्तै, राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

