निषेधाज्ञा : भुइँमान्छेहरूको व्यथा

सल्यान घर भई हाल काठमाडौंको न्यूरोडलाई कर्मथलो बनाएर आफ्नो जीविकोपार्जन गरिरहेका ६२ वर्षीय कृष्णबहादुर तमाङको कथाव्यथा कहालीलाग्दो छ । बसिखाने यस उमेरमा पनि उनी अरूको भारी बोकी दैनिक जीवन गुजारा गर्न बाध्य छन् । उनी आफू मात्र होइन, उनका आर्जनबाट बाँच्ने उनको पाँचजनाको परिवार पनि छ । सरकारले निषेधाज्ञा लागु गरेपछि उनी कामविहीन हुन पुगेका छन् । काम नपाएपछि माम जुट्ने सवालै भएन ।

कम्मरमा नाम्लो बाँधी उनी न्यूरोडको सडक पेटीमा सुतिरहेको अवस्थामा भेटिन्छन् । काठमाडौंमा निषेधाज्ञा लागुभएकोले सबै पसलहरू बन्द छन् । पसल बन्द मात्र छैनन्, उनको कमाइ पनि बन्द छ र परिवारको मुखमा माड लगाउने व्यवस्था पनि बन्द छ । सुस्ताएर सडक पेटीमा बस्ता पनि कहिलेकाहीं प्रहरीले लखेट्छन् । हाल उनी विलखबन्दमा छन् । उनका लागि कोरोनाको कहरबाट मरिएला कि भन्ने पीरभन्दा पनि भोकले मरिएला कि भन्ने चिन्ता बढी छ । यो निषेधाज्ञा वा लक डाउन कहिले सकिएला र बुढो हड्डी खियाएर भए पनि खानाको जोहो गर्न सकिएला भन्ने आशामा छन् उनी । कोठामा आफ्ना परिवारको भोकले आलसतालस भएको अनुहार हेर्न नसकेर कुनै चमत्कार होला कि भन्ने आशामा प्रहरीको आँखा छलेर न्युरोडको सडक पेटीमा अढेस लागेर सुस्ताइरहेको अवस्थामा भेटिन्छन् उनी ।



‘घरमा खान छैन, गोजीमा दाम छैन र गर्नलाई काम छैन । के गरम् हजुर …’ उनी निराशाको लामो सास फेर्छन् । ‘पहिलेको लकडाउनमा त रत्नपार्कमा बिहान बेलुका खानाको व्यवस्था गरेको थियो, अहिले त त्यो पनि छैन । हामी कहाँ जाउँ ?’ उनी दुखेसो पोख्छन् । उनको दुखसो सुन्नेले सुनिदिए पो !

कृष्णबहादुरसँग कुराकानी गर्दैगर्दा अरू पनि ५-७ जना मजदुरहरू वरिपरि आइपुग्छन् । ती सबैको पनि कथाव्यथा उस्तैउस्तै छ । उनीहरूलाई सरकारमा को छ ? को आउनेवाला छ वा को जानेवाला छ पत्तो छैन र मतलब पनि छैन । उनीहरूलाई त श्रम गरेर भए पनि पेटभरी खान पाइयोस् र आफ्ना लालाबालाहरूलाई पनि भोकभोकै सुताउनु नपरोस् भन्ने मात्र चिन्ता छ । त्यसैले उनीहरू सबै एकै स्वरले भन्छन् ‘सरकारले चाँडोभन्दा चाँडो यो भोको पेटमा चारो हाल्ने व्यवस्था गरिदियोस्, हाम्रो कुरा सरकारसम्म पुर्याइदिनु होला ।’

ती विचरा मजदुरहरूलाई के थाहा सरकार उनीहरूभन्दा पनि धेरै पीडित छ भनेर । आफूले ढलिमली गरिरहेको लाभको पद जाला भनेर रातभरि निद्रा नलाग्ने अवस्थामा छ सरकार । जतिपल्ट गने पनि आफ्ना पक्षमा मतदान गर्ने सांसदहरूको अङ्कगणित नमिल्दा कति रात जाग्रम बसेको छ सरकार । यस अवस्थामा आफ्नो भजनबाहेक अरू कुरा सुन्न नचाहने सरकारले कुनै एउटा पत्रकारले समाचार लेखेकै भरमा कृष्णबहादुरहरूजस्ता भुइँमान्छेहरूको माग पूरा होला र उनीहरूले राहत पाउलान् भन्ने कुरामा स्वयम् समाचार लेख्नेलाई नै विश्वास छैन । तैपनि उनीहरूको मन राख्न भनियो ‘हस्, हामी तपाईहरूको कुरालाई सरोकारवालाहरूसम्म पुर्याइदिने छौं ।’

 

सम्बन्धित समाचार