नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ वैशाख ।

नेपाली कांग्रेस नुवाकोटले आफ्नो विदुर नगरपालिका वडा नं २ मा रहेको पार्टी कार्यालयलाई अस्थायी कोभिड अस्पताल सञ्चाल्न गर्न दिने निर्णय गरेको छ ।
जिल्लामा कोभिड सङ्क्रमितहरूको संख्या बड्दै गएपछि नेपाली कांग्रेस नुवाकोटले १२० शैयाको अस्थाई कोभिड अस्पताल बनाउन दिने निर्णय गरेको जनाएको छ । सो सम्बन्धमा मंगलबार प्रमुख जिल्ला अधिकारीलाई एक पत्र लेखी यथाशीघ्र अनुमति प्रदान गर्न अनुरोध पनि गरेको छ ।
नेका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ– प्रस्तुत विषयमा पछिल्लो समय नुवाकोट जिल्लामा कोभिड–१९ का संक्रमितहरूको सङ्ख्या बढ्दै जाँदा जिल्लाका अस्पतालका बेडहरु क्रमशः भरिदै गएको अवस्था छ । पछिल्लो समय कोभिड संक्रमितहरूले बेड अभावका कारण सहज रूपमा उपचार पाउन नसकेको सन्दर्भमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । जनस्वास्थ्य जस्तो मानवीय संवेदनशीलता र जनताको मौलिक हक अधिकारलाई सरकारले समयमै उचित व्यवस्थापन गर्न नसक्दा यो महासङ्कट आइपरेको हाम्रो ठहर छ ।
तसर्थ नुवाकोट कोभिड संक्रमित जनतालाई सहज रूपमा उपचार प्राप्त हुनसकोस् भनी विदुर नगरपालिका वडा नं २ मा रहेको करिब ३० गाडी ५० मोटरसाइकल पार्किङ गर्न मिल्ने, हरेक हिसाबले सुरक्षित र कम्पाउण्ड वालले घेरिएको नेपाली कांग्रेस पार्टी कार्यालयमा करिब १२० शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न सकिने भएकोले अस्थाई अस्पताल सञ्चालनार्थ तहाँबाट निरीक्षण गरी अविलम्ब अनुमति प्रदान गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्र नुवाकोटलार्ई नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नुवाकोट हार्दिक अनुरोध गर्दछ ।
नुवाकोटका हरेक नागरिकको जीवन रक्षाको लागि नेपाली कांग्रेस नुवाकोट हिजो पनि दृढ सङ्कल्पित थियो, आज पनि छ र भोलि पनि रहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दै कोभिड अस्थायी अस्पताल निर्माणको लागि यथाशीघ्र अनुमति प्रदान गर्नुहुन पनि अनुरोध छ ।

