
राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डाक्टर खिमलाल देवकोटाको मनोनयन दर्ता भएको छ। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर्वाचन आयोग, बागमती प्रदेश कार्यालयमा विहान साँढे १० बजे मनोनयन दर्ता गरेका हुन्।
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बाँनिया, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु लगायतको सहभागितामा डाक्टर देवकोटाले मनोनयन दर्ता गरेका हुन्।
सत्तारुढ एमालेका तर्फबाट रामबहादुर थापा बादलले उम्मेदवारी दिने भएका छन्। उनी हेलीकोप्टरमार्फत भर्खर हेटैडा उत्रिएका छन् । एमाले प्रवेश गरेपछि कारवाहीमा परेका बादलको राष्ट्रियसभा सदस्य पद गएपछि उनको ठाउँमा उप निर्वाचन हुने भएको हो। बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार विहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ।

