नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ वैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जस्तै केन्द्रमा पनि प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएर पुन: प्रधानमन्त्रीमा नियुक्त भई दुई वर्ष कार्यकाल सुनिश्चित गर्न खोजेका छन् । स्रोतका अनुसार नेपाल पक्षको माग पुरा गर्ने र जसपाका महन्थ ठाकुर पक्षलाई सरकारमा तान्ने गरी बहुमत जुटाउने ओलीको रणनीति रहेको छ । पछिल्लो समयको दौडधुप उनले विश्वासको मत लिन भन्दा पनि पुनः प्रधानमन्त्रीमा नियुक्त हुन केन्द्रित गरेको लख नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि काटेका छन् ।
उनीहरुबीच शुक्रबार साँझ मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको विकल्प खोज्ने सहमतिसहित त्यसका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन आआफ्नो तर्फबाट प्रयास गर्ने भएका छन् । ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रियाअनुसार नै मुलुक निर्वाचनमा जानसक्ने विषयमा पनि उनीहरूबीच कुरा भएको स्रोतको दाबी छ ।
ओली विश्वासको मत लिनभन्दा पनि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त हुने रणनीतिमा रहेको विषयमा समेत दुई नेताबीच कुरा भएको स्रोतको दाबी छ । जसपाको समर्थन पाउने अवस्थामा ओलीले प्रधानमन्त्रीमा आफूलाई पुनर्नियुक्ति गरेर दुई वर्षका लागि पद सुनिश्चित गर्ने रणनीतिमा रहेको कांग्रेस नेताहरूको बुझाइ छ ।
प्रचण्ड र देउवाले ओलीको पक्षमा बहुमत जुट्न नदिने समझदारी गरेका छन् । साथै नेपाल पक्षले राजीनामा दिएमा मात्र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न संख्या पुग्नेबारे देउवाले प्रचण्डलाई सजग गराएका थिए ।
