मन्त्रिपरिषद बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको हो । बैठकले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । त्यसले अरू अस्पतालहरूको पनि समन्वय गर्ने जनाइएको छ ।



‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समिक्षा भएको छ’, मन्त्री त्रिपाठीको भनाइ छ ।

बैठकले केही महत्वपूर्ण राजनीतिक निर्णय गरेको अनुमान गरिएपनि सार्वजनिक भने भएका छैनन् ।

सम्बन्धित समाचार