नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ वैशाख ।

नेकपा एमालेको माधव नेपाल समूहका प्रत्यक्ष निर्वाचित २२ जना सांसद्ले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । उनीहरुले राजीनामा पत्रमा हस्ताक्षर गरेर नेता नेपाललाई बुझाइसकेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा निरन्तरता दिनु भन्दा सामूहिक राजीनामा दिने निर्णयमा नेपाल पक्षका सांसदहरु पुगेका हुन्।
नेपाल पक्षका सांसद्ले सामूहिक राजीनामा दिने भएसँगै ओलीले आगामी २७ गते लिन लागेको विश्वासको मत जुटाउन गरेका सबै प्रयास असफल भएका छन्। शनिबार सातदोबाटोमा करिव ६ घण्टा छलफल गरेपछि नेपाल पक्ष ओलीलाई साथ दिनुभन्दा सामूहिक राजीनामा दिनु उपयुक्त हुने निर्णयमा पुगेको हो।
नेपाल पक्षका सांसद झपट रावलका अनुसार आजको छलफलमा प्रत्येक्षतर्फका २२ जना सांसदहरुले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी नेता माधवकुमार नेपाललाई बुझाएका छन्। उनका उनुसार यो सामूहिक राजीनामा आज नै संसदमा बुझाइने छ। नेपाल पक्षले ओलीलाई पुनः प्रधानमन्त्री बनाउनुपर्ने र कारबाही पनि भोग्नु पर्ने अवस्था आउन लागेकाले सामूहिक राजीनामा दिन तयार भएको रावलले बताए।
यो सँगै ओलीले आफ्नो सत्ता बचाउन आगामी २ दिनभित्र कठोर कदम लिन सक्ने आंकलन बढेको छ। साथै उनले विषेश अधिवेशन नै अनिश्चित कालको लागि स्थगित गर्ने तयारी गरेको पनि स्रोतको दाबी छ ।
