नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ वैशाख ।

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद संघीय संसद्को सचिवालय सिंहदरबारमा पुगेका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्बाट विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई असफल पार्न नेपाल समूहका सांसद राजीनामाका लागि संसद् सचिवालयमा पुगेका हुन् ।
केहीबेर अघि नेपाल समूहका नेताबीच भर्चुअल छलफल भएपछि सांसद संघीय संसद् सचिवालयमा पुगेका हुन् । अहिलेसम्म माधवन नेपाल, योगेश भट्टराई र सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, पवित्रा निरौला लगायत सांसद सचिवालयमा पुगिसकेका छन् ।
वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने लागेका हुन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि सोमबार विशेष अधिवेशन बोलाएका छन् । विश्वासको मतमा ओलीलाई असफल बनाएर वैकल्पिक सरकार बनाउने कांग्रेस र माओवादी केन्द्रको योजनालाई सघाउन उनीहरूले राजीनामा दिन लागेका हुन् ।
नेपाल समूहका सांसद राजीनामा बुझाउन सिंहदरबार पुग्दा अध्यक्ष अोलीले राजीनामा रोक्न अर्थमन्त्री विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सिंहदरबारमा पठाएका छन् ।

