नुवाकोट कांग्रेसले सङ्क्रमितहरूलाई एक महिना खाना निःशुल्क खुवाउने

नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमित भएर भर्ना भएका १०२ जना विमारीलाई नुवाकोट कांग्रेसले एक महिनासम्म बिहान बेलुकाको निःशुल्क खाना खुवाउने व्यवस्था गर्ने भएको छ । कोरोना पीडितहरूलाई अस्पतालमा खानकै समस्या आएपछि नुवाकोट कांग्रेसले उक्त पहल गरेको हो ।

यस मानवीय कार्यमा सामाजिक संस्थाहरू ओम यदि फाउण्डेसन तथा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले आर्थिक दायित्व वहन गर्ने र त्यसको समन्वय नेपाली कांग्रेस, नुवाकोटले गर्ने नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले अनलाइन पत्रिका नवकान्तिपुरलाई जानकारी दिए ।



समय समयमा महामारी तथा अन्य विपत्तिमा परेका जिल्लाबासीहरूलाई मानवीय सहयोग पुर्याउँदै आएका र त्यसैको निरन्तरता स्वरूप कोरोनाबाट आक्रान्त विमारीलाई विभिन्न सामाजिक संस्थाहरूको सहकारीतामा नुवाकोट कांग्रेसले समन्वयकारी भूमिका निर्वाह गरेको सभापति केसीले जानकारी दिए ।

सभापति केसीले अगाडि थपे ‘पछिल्लो समय मुलुक कोरोनाबाट आक्रान्त छ र सरकारले सशक्त रूपमा अभिभावकीय भूमिका निर्वाह गर्न सकिरहेको छैन । अक्सिजनको अभावले नागरिकको अकालमा ज्यान गइरहेको छ । अस्पताल भर्ना भएकैहरूको पनि साधन र श्रोतको अभावमा उचित व्यवस्थापन हुन सकिरहेको छैन । यस जटिल अवस्थामा राजनैतिक पार्टी र सामाजिक संस्थाहरूबाट गरिने सानो सहयोग पनि पीडितका लागि ठूलो राहत हुने कुरामा दुईमत छैन ।’

सम्बन्धित समाचार