विश्व दूरसञ्चार तथा सूचना समाज दिवस भर्चुअल कार्यक्रम गरी सम्पन्न

कोरोना संक्रमणजस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक छ भन्ने सन्देशसहित विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) कार्यक्रम सम्पन्न भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मे १७ मा का अवसरमा सोमबार भर्चुअल कार्यक्रम सम्पन्न गरेको हो ।

प्राधिकरणले यस दिवसको अवसरमा ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागिहरूले अहिलेको परिस्थितिमा डिजिटल रूपान्तरण अत्यावश्यक भएको र त्यसको लागि सूचना प्रविधिको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।



कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस फोरममा आएका विज्ञका सुझाबका आधारमा नीति निर्माण गर्ने र आवश्यक भए परिवर्तन गर्न मन्त्रालय अग्रसर हुने बताए । उनले अहिलेको कोभिड संक्रमणमा दूरसञ्चार सेवा अझ भरपर्दो हुनुपर्ने पनि बताए । ‘अहिले दूरसञ्चारर क्षेत्रलाई अझ बढी भरपर्दो बनाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने– ‘कोभिड विभिन्न चरणमा आउने छन् । हाम्रो सेवालाई निरन्तर दिने प्रतिबद्धता गरौं र मानवसेवाका निम्ती एकजुट होऔं ।’

त्यस्तै, कार्यक्रम आयोजकका रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस क्षेत्रको विकासका लागि प्रतिवद्धताको खाचो रहेको बताए । उनले भने– ‘प्रतिवद्धता लिएर योजनावद्ध रूपमा अगाडि बढ्ने हो भने डिजिटल रुपान्तरण गर्न गाह्रो छैन । प्रत्येक निकायबाट प्रतिबद्धता आउनु पर्छ ।’

सम्बन्धित समाचार