गण्डकी प्रदेशमा दीपक मनाङेसहित ५ जना मन्त्री नियुक्त, मन्त्रिपरिषद्को पहिलो बैठकले गर्यो यस्तो निर्णय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनको मन्त्रिपरिषदमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिएका छन् ।

बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए । युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा अनुपस्थित गरे ।



यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री थिए । कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले त्यसै दिन मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् । मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको छ ।

साथै आजै बसेको पहिलो मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको कार्य विभाजन नियमावली २०७४ लाई संशोधन गरेको छ। प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार मन्त्रालय संख्या थप गर्न उक्त नियमावलीमा आवश्यक संशोधन गरिएको हो। बस्नेतलाई आज बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ता नियुक्त गरेको हो । उनी यसअघि पनि सरकारका प्रवक्ता थिए ।

बस्नेतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन संघ सरकारलाई सिफरिस गर्ने निर्णय भएको छ । यस्तै बैठकले मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा लमजुङका डा भ‍ीष्म अधिकारी र योजना आयोगका उपाध्यक्षमा डा गिरधारी शर्मा पौडेल र सदस्यमा विष्णु बराल नियुक्त गरेको छ ।

सम्बन्धित समाचार