
राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न मतदान स्थल पुगेका सत्तारुढ दल एमालेका मतदाताहरु छुट्टाछुट्टै स्थानमा बसेका छन्। मकवानपुरमा जारी मतदानमा माधव नेपाल पक्षका नेता विपक्षीसँग टेन्टमा बसेका छन् भने ओली पक्षका नेता तथा मतदाताहरू एउटा टेन्टमा बसेका छन्। यसरी उनीहरु आ–आफ्नो कित्तामा छुट्टिएका छन्।
एमाले नेतृ अस्टलक्ष्मी शाक्य, मुनु सिग्देल र हेटौडा उपमहानगरककी उपमेयर मिना लामा लगायत माधव नेपाल समूहका मतदाता छुट्टै स्थानमा उपसभामुख राधिका तामाङ, प्रतिपक्षी दलको नेता इन्द्र बाँनियालगायत विपक्षी दलसँग बसेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल लगायतको टोली भने अर्को टेन्टमा बसेको छ। केन्द्रमा एमाले मिलेको भए पनि मतदान स्थलमा भने कार्यकर्तामा विभाजन देखिएको छ।
उप निर्वाचनमा एमालेका दुई उम्मेदवार चुनावी मैदानमा छन्। संस्थापन पक्षले गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाएको छ भने असन्तुष्ट माधव नेपाल समूहले विपक्षी गठबन्धनसँग मिलेर खिमलाल देवकोटालाई चुनावमा उठाएको छ।

