नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।

हाल नेपालको मौसममा बंगालको खाडीमा बनेको यास नामको चक्रवातको आंशिक प्रभाव छ। जसले गर्दा मंगलबार बिहानदेखि नै देशका विभिन्न स्थानमा वर्षा जारी छ। उता भारतमा आज यास चक्रवात बज्रिन आइपुग्ने अनुमानले बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चक्रवातको आंशिक प्रभाव मात्रै नेपालमा परेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।आजदेखि वर्षा र हिमपात अझ बढ्दै जाने र कम्तीमा शुक्रबारसम्म जारी रहने देखिएको महाशाखाले जनाएको छ। यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान भनेर मौसमविद्ले यसअघि नै पटकपटक विशेष मौसम बुलेटिन जारी गरेर सचेत गराइसकेका छन्।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
राति भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशमा एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना छ।

