भोलिदेखि बन्द हुने भएपछि काठमाडौंका खाद्य स्टोर्समा भीड

काठमाडौं उपत्यकाभित्रका खाद्य स्टोर्समा आज बिहानैदेखि अन्य दिनभन्दा भीड बढेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले दुईदिनभित्र एक सातालाई पुग्ने खाद्यान्न जम्मा गर्न आग्रह गर्दै खाद्य स्टोर्स पनि बन्द गर्ने निर्णय गरेपछि खाद्यान्नको जोहो गर्न सर्वसाधारणको भीड लागेको हो ।

काठमाडौं उपत्यकाका सबैजसो खाद्य स्टोर्समा भीड बढको देखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्न र तरकारी पसल पनि एक साता ठप्प गर्ने निर्णय भएको छ ।



‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यान्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ,’ प्रजिअ पराजुलीले भने । दुध, माछा मासुका पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने छ ।

प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल बन्द गरेर छिट्टै काठमाडौं उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको बताए । यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ ।

सम्बन्धित समाचार