नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ जेठ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। आइतबारका लागि तोकिएको बैठक सोमबारका लागि सारिएकोमा सोमबार पनि स्थगित भएको थियो। सारिएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
आइतबार आन्तरिक कारण र सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण भन्दै बैठक स्थगित गरिएको थियो।बैठकमा यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरुलाई के कारबाही गर्ने भन्ने बारेमा पनि निर्णय हुन सक्ने बताइएको छ।
स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।
यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ।

