नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ जेठ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्रीले न्यायालय र कानुन व्यवसायीहरुप्रति गरेको टिप्पणी हारेको मानसिकताको उपज भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरुप्रति नकारात्मक टिप्पणी गरेको भन्दै नेता कोइरालाले त्यसलाई गणतन्त्रको अवमूल्यन तथा अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यासको रुपमा टिप्पणी गरेका हुन्।
न्यायालय र कानुन व्यवसायीहरुप्रति प्रधानमन्त्रीको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै भएको नेता कोइरालाको भनाइ छ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेता कोइरालाले सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री ओलीले गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भन्दै बसेको स्मरण गर्दै वकिलहरु कालो कोटमा आफूहरुसँग आन्दोलनमा उत्रिएको र कतिपय जेलमा पुगेको उल्लेख गरेका छन्।
तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण प्रशस्तै रहेको भन्दै उनले त्यसलाई खोज्न अन्त जानु नपर्ने बताएका छन्। ‘हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालमा गणतन्त्र आएको नहुन सक्थ्यो,’ नेता कोइरालाले भनेका छन्, ‘पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु।’
नेता कोइरालाले न्यायालयमाथि प्रधानमन्त्रीको भनाइबारे सजग हुनुपर्ने र आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गर्नुपर्ने उल्लेख गरेका छन्। प्रतिनिधि सभा विघटनका विरुद्ध परेको रिटमाथि जारी सुनुवाइको क्रममा कतिपय न्यायाधीशको निष्पक्षतामा प्रश्न उठाउने वकिलहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक कार्यक्रममा अराजकको आरोप लगाएका थिए।

