नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफा स्वदेश फर्किएका छन् । राजकुमार अल खलिफासहितको टोली बहराइनको विशेष विमान मार्फत मंगलबार स्वदेश फर्किएका हुन् । उनलाई लिन बहराइनबाट विशेष विमान सोमबार नै काठमाडौं आएको थियो ।
राजकुमार अल खलिफाले गएको वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथाको चुचुरामा पाइला टेकेको थियो । आरोहण मार्ग डोरी लगाउने कामी रिता शेर्पासहितको १२ सदस्यीय शेर्पा टोली पछि राजकुमार खलिफाको समूह सिजन सगरमाथामा पुग्ने पहिलो समूह बनेको थियो ।
राजकुमार खलिफासहिले विगतको भन्दा उचाई बढेको सगरमाथा चढेका हुन् । गत वर्ष नेपाल र चीनले संयुक्त रुपमा गरेको मापनमा सगरमाथाको उचाइ केही बढेर ८ हजार ८४८.८६ मिटर पुगेको थियो । त्यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो । राजकुमार खलिफाले यसअघि गएको वर्ष लोबुचे र मनास्लु हिमाल चढेका थिए । उनलाई नेपाल सरकारले सोमबार सम्मानित पनि गरेको थियो । विमानस्थलमा राजकुमार अल खलिफालाई लोकबाजा टुङ्ना र थाङ्का उपहार स्वरुप प्रदान गरिएको थियो ।

