नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ जेठ ।

कोरोना सङ्क्रमणबाट पीडित जनसमुदायलाई राहत दिन नुवाकोट कांग्रेस थप क्रियाशील भएको छ । कोरोना सङ्क्रमित भई आइसोलेसन सेन्टर र अक्सिजनको अभावमा छटपटाइरहेका जिल्लाबासीहरूको पीडा र व्यथालाई कम गर्न उनीहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानीमा राखी उपचारको सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गर्न लागिएको अस्थाई कोभिड अस्पताल (होल्डिङ सेन्टर) को सम्पूर्ण तयारी पूरा भएको पनि नुवाकोट कांग्रेसले एक विज्ञप्तिमार्फत् सबैमा जानकारी गराएको छ ।
विभिन्न सहयोगी हातहरूको सहकार्यमा सञ्चालन हुन लागेको उक्त अस्थाई कोभिड अस्पताललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सह–महामन्त्री अर्जुननरसिंह केसीबाट १५ थान अक्सिजन सिलिण्डर, अस्ट्रेलिया बस्ने नेपालीहरूको समन्वयमा नुवाकोट काठमाडौं सम्पर्क समितिका अध्यक्ष पदमराज पौडेलबाट १६ बेड, नेपाली कांग्रेस विदुर नपा–५ का सभापति राजेन्द्र अर्याल र युवा व्यवसायी केशव थापाबाट २/२ बेड, विनपा–५ का शिवहरि गजुरेल, टाकानाथ रिजाल र दामोदर प्याकुरेलबाट १/१ बेड गरी जम्मा २२ बेड सहयोग स्वरूप प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
हाल उक्त अस्थाई कोभिड अस्पतालमा अक्सिजन कन्सेनट्रेटरसहित ५ बेड तथा अक्सिजनसहित १५ बेड सञ्चालन भइरहेको पनि जनाइएको छ । नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वयम्सेवा गर्न इच्छुक स्वास्थ्यसम्बन्धी अध्ययन गरेका तर हाल खाली रहेका जनशक्तिलाई उक्त मानवीय कार्यमा जोडिन आह्वान गर्दै यस्तो महान् मानवीय सेवामा सरिक हुन उद्योगी, व्यवसायी, कर्मचारी, सामाजिक संघ–संस्थालगायत सबैमा अनुरोध पनि गरिएको छ ।

