नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ जेठ ।

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ। दिउँसो १ बजेदेखि शुरू हुने प्रदेश सभामा दलीय धारणा तय गर्न बजेट अधिवेशनका विषयमा योजना बनाउन सत्तारूढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बिहान ८ बजे दलको बैठक बोलाइएको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।
एमालेले सभामुख पूर्णबहादुर घर्तीले कानुन विपरीत मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव पेश गर्ने आशंका गरेको छ। सभामुख घर्तीले विपक्षी गठबन्धनले प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्तावमा संसदमा अगाडि बढाउने धारणा यसअघि नै सार्वजनिक गरेका थिए।
हिजो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा आज पहिलो दिन बैठक शुरू गरी दलीय शुभकामना राख्ने सहमति भएको छ। तर सत्तारूढ एमालेले कार्यसूची विपरीत सभामुखले अविश्वासको प्रस्ताव अगाडि बढाउन सक्ने आशंका गरेको छ भने विपक्षी दलले सरकारले संसद अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने आशंका गरेको छ।
लुम्बिनीमा धारा १६८ को १ अनुसार सरकार गठन भएकाले अविश्वासको प्रस्ताव लैजान नमिल्ने एमालेको बताउँदै आएको छ भने विपक्षी गठबन्धनले कानून विपरीत मुख्यमन्त्री शंकर पोखरेल पुनः नियुक्ति भएको दावी गर्दै आएको छ।

