नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ जेठ ।

पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेमा दोस्रो तहका नेताहरु सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच प्रत्यक्ष भेटवार्ता नभए पनि दुवै पक्षका दोस्रो तहका नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । यसै शिलशिलामा पार्टी महासचिव इश्वर पोखरेल र सचिव योगेश भट्टराईबीच भेटवार्ता भएको छ । दुई नेताबीच उपप्रधानमन्त्री पोखरेलको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटमा उपप्रधानमन्त्री पोखरेलले भट्टराईलाई नेपाल समूह छोडेमा पार्टी र सरकारमा आकर्षक स्थान दिन ओली तयार रहेको प्रलोभन देखाएको स्रोतको दाबी छ । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने निर्णयमा हस्ताक्षर नगरेर पछिल्लो समय ओलीप्रति नरम देखिएका भट्टराईलाई ओली समूहले आफूतिर तान्न भरपूर प्रयास गरिरहेको छ ।
यसअघि सोमबार राती ओली पक्षीय नेता र माधव नेपाल पक्षीय नेताहरुबीच झण्डै ४ घण्टासम्म छलफल चलेको थियो । पछिल्लो समय दुवै पक्षका दोस्रो तहका नेताहरु विवाद समाधानको उपायमा छलफल गर्न सक्रिय देखिएका छन् ।
एमालेमा माधव पक्षले ओली पक्षले गरेका सबै निर्णयहरु खारेज गर्दै ०७५ जेठ २ कै अवस्थामा फर्कनुपर्ने माग राख्दै आएको छ । उक्त मागमा सहमती जनाएअनुसार ओली पक्षले थप निर्णयहरु गर्दै जाँदा विवाद बढ्दै गएको छ ।

