नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ जेठ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी केपी शर्मा ओली समूहमा लागेका शेरबहादुर तामाङ दम्पती नै मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रूपमा मन्त्रीमण्डल हेरफेर गरी शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन् । उनको शुक्रबार नै सपथ हुने तयारी गरिएको छ। शेरबहादुरकी पत्नी उषाकला राई प्रदेश १ मा सामाजिक विकास मन्त्री छन् ।
पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड माधव समूहमा लागेका थिए। प्रचण्ड–माधव समूहको भेला, प्रदर्शन र कार्यक्रमहरूमा सहभागी हुने गरेको यो दम्पती फागुन ८ मा भने ओली समूहमा फर्किएको थियो ।
शेरबहादुर तामाङ प्रतिनिधि सभाको गत निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए भने प्रदेश १ को प्रदेशसभामा उषाकला समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् ।
यसअघि पनि कानुनमन्त्री बनिसकेका तामाङले बंगलादेशमा पढ्ने नेपाली छात्राहरूका विषयमा ‘विवादास्पद अभिव्यक्ति’ दिएपछि राजीनामा दिएका थिए ।

