नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।
करिब ७,०९६ वर्ग किलोमिटरमा फैलिएको सिक्किम वर्तमान अवस्थामा भारतको २२औं राज्य हो । यसकोे पूर्वमा भुटान, पश्चिममा नेपाल र उत्तरमा चीन र दक्षिणमा भारतको पश्चिम बङ्गाल राज्य पर्दछन् । सिक्किमको राजधानी ग्यान्तोक हो । यहाँ मुख्य रूपमा लेप्चा, भोटे र नेपाली मूलका मानिसहरू बसोबास गर्छन् तर सङ्ख्याका हिसाबले नेपाली मूलका बासिन्दाहरूको बाहुल्यता रहेको छ । यो मुलुक सन् १९७५ अगाडि एउटा सानो तर स्वतन्त्र पहाडी मुलुकका रूपमा अस्तित्वमा थियो । स्वतन्त्र राष्ट्रबाट भारतबाट शासित राज्यमा परिणत हुन एकजना नेताको अहम् भूमिका रहेको थियो भनिन्छ । ती व्यक्तिको नाम काजी लेण्डुप (लेन्दुप) दोर्जी थियो ।
को हुन् काजी लेण्डुप दोर्जी ?
काजी लेण्डुप दोर्जीलाई सिक्किमेली जनता कान्छा काजीको नामबाट पनि चिन्दथे । यिनको जन्म खाङ्सार्पा परिवारमा सन् १९०४ मा पूर्वी सिक्किमको पाक्योङमा भएको थियो । उनी छ वर्षको उमेरमा नै रुम्तेकस्थित बौद्ध गुम्बामा पढ्न गए । तत्कालीन राजा घुम्न गएको बेला बालक लेण्डुपलाई देखेर धेरै प्रभावित भए र उनलाई ग्यान्तोक दरबारमा नै लगेर पढाए । राजाको सानिध्यमा रहेरै उनको पालन पोषण र शिक्षा आर्जनको काम भयो । राजाले लेण्डुपलाई काजीको उपाधि पनि दिए । राजाको कृपा दृष्टिकै कारण लेण्डुपले आफ्नो व्यक्तित्व निर्माण गर्दै गए ।
यिनी चलाख र अनुशासित पनि थिए । यिनी १८ वर्षको कलिलो उमेरमा नै रुम्तेक बौद्ध विहारका लामा (धर्म गुरु) र त्यसका प्रमुख पनि बनाइए । रुम्तेक बौद्ध विहारको प्रमुख बनेको केहीपछिदेखि यिनले समाज सुधारका कार्यहरूमा पनि आफ्नो योगदान दिन थाले । यसबाट यिनको समाजसेवीको छवि पनि बन्दै गयो र जनमानसमा क्रमशः लोकप्रिय पनि बन्दै गए ।
धर्म गुरुको राजनीतिक जीवन आरम्भ
सामाजिक सेवामा सरिक हुन थालेपछि र जनमानसमा लोकप्रियता हाँसिल हुदै गएपछि काजी लेण्डुप दोर्जीलाई राजनीतिमा पनि आफ्ना पहुँच पुर्याउन रुचि बड्न थाल्यो । त्यसपछि उनले राजनीतिमा प्रवेश गर्ने निर्णय गरे र सन् १९४५ मा सिक्किम प्रजा मण्डल नामको राजनीतिक पार्टी स्थापना गरी त्यसको संस्थापक अध्यक्ष बने । यसरी बौद्ध विहारको धर्म गुरु र गुम्बाका प्रमुख भएर सार्वजनिक जीवन आरम्भ गरेका काजी लेण्डुप सन् १९४५ देखि राजनीतिक जीवनमा प्रवेश गरे र आफ्नो जीवन यात्रालाई फरक ढङ्गबाट अगाडि बढाउन आरम्भ गरे ।
विवाह
सन् १९५७ मा काजी लेण्डुप दोर्जीको विवाह स्कटिस पत्रकार-लेखक एलिजा मारियासँग भएको थियो, जो एक डिभोर्सी महिला थिइन् । एलिजा मारियाले एडेम्बरा विश्वविद्यालयबाट कानुनको अध्ययन गरेकी थिइन् । काजी लेण्डुपसँग जोडिएपछि लेण्डुपले गर्ने हरेक निर्णयका पछि यिनै मारियाको हात रहने गर्दथ्र्योे भन्ने गरिन्छ । कतिपयले भारतको केन्द्रीय सरकारले नै मारियामार्फत् सिक्किमलाई भारतमा विलय गराउने चाल चलेको थियो । सिक्किम भारतमा विलय भइसकेपछि मारियाले लेण्डुपलाई पनि छोडेर हिँडिन् । त्योभन्दा अगाडि जनतालाई भड्काएको आरोपमा तत्कालीन सिक्किमका राजा चोग्यालले उनलाई निर्वासित गरेका थिए । सिक्किमबाट निर्वासित भएपछि मारिया पश्चिम बङ्गालको कालिङपोङमा गएर बसेकी थिइन् ।
सिक्किमको राजनैतिक पृष्ठभूमि
सिक्किम सन् १९४२ देखि एक स्वतन्त्र राजतन्त्रात्मक मुलुक थियो । यहाँ नाम्ग्याल वंशका राजाहरूले राज्य संचालन गर्दै आएका थिए । उनीहरू सिक्किमेली जनताका बीच लोकप्रिय हुन नसक्ता भित्रभित्रै विद्रोही स्वरहरू मुखरित र सङ्गठित हुँदै थिए । भारत पनि बलेको आगोमा भित्रभित्रै घीउ थप्ने काम गर्दै थियो । यसैक्रममा विभिन्न राजनीतिक पार्टीहरू बन्ने, विलय हुने र गाभिएर पुनः संगठित हुने क्रम चल्न थाल्यो । यही मेसोमा सन् १९४७ डिसेम्बर ७ मा टाशी छिरिङको सभापतित्वमा सिक्किम स्टेट कंग्रेस पार्टीको स्थापना भयो । यस पार्टीका विभिन्न उद्देश्यहरूमध्ये सिक्किमलाई भारतमा विलय गराउनु पनि एक थियो भनिन्छ ।
सिक्किम स्टेट कंग्रेसको प्रभावलाई कम गर्न दरबारको पहलमा सन् १९४८ मा सिक्किम नेशनल पार्टीको पनि स्थापना भयो । यस पार्टीको मूल लक्ष्य भनेको सिक्किमलाई एक स्वतन्त्र राष्ट्रका रूपमा अक्षुण्ण राख्न पहल गर्नु थियो ।
सन् १९५३ मा सिक्किम स्टेट कंग्रेस पार्टीका सभापति टाशी छिरिङको अचानक मृत्यु भएपछि पार्टीको नेतृत्वमा काजी लेण्डुप दोर्जी पुगे । आफू नेतृत्वमा पुगेपछि दोर्जीले जनताको मन जित्न मुलुकभरि अनेक सामाजिक कार्यहरू गरे । तर उनको फरक कार्यशैलीका कारण उनको विरोध आरम्भ भयो, परिणाम्स्वरूप उनले सन् १९५८ मा नेतृत्व छोड्न बाध्य भए । उनले सिक्किम स्टेट कंग्रेसको नेतृत्व मात्र छोडेनन्, त्यो पार्टी नै परित्याग गरिदिए ।
सिक्किम स्टेट कंग्रेस पार्टी छोडेपछि उनले अझ सशक्त वैकल्पिक पार्टीको परिकल्पना गरे, जसले सिक्किमेली जनताको माग र समस्याको सम्बोधन गर्न सकोस् । यही उद्देश्यले सन् १९५८ मा नै आफ्नो अध्यक्षतामा सिक्किम स्वतन्त्र दल स्थापना गरे । तर पनि उनलाई चित्त बुझेन । यस्ता खालका ससाना पार्टीहरूबाट आमुल परिवर्तन र शक्तिशाली प्रतिपक्ष बन्न नसक्ने ठानी उनले सन् १९६० मे २० मा आफ्नै पहलमा सिङ्ताम भन्ने ठाउँमा ससाना सबै पार्टीहरू संगठित गरी र्याली गरे र बैठकको आयोजना गरे । यस बैठकले काजी लेण्डुप दोर्जीको नेतृत्वमा एउटा शक्तिशाली पार्टी गठन गर्यो । पार्टीको नाम सिक्किम स्वतन्त्र दल राखियो । यस पार्टीको मूलभूत उद्देश्यका रूपमा सिक्किममा संवैधानिक राजतन्त्र हुनुपर्ने, एक स्वतन्त्र न्यायपालिकाको व्यवस्था हुनुपर्र्नेे आदि थिए ।
लेण्डुपको दिल्ली दौढ
सिक्किम स्वतन्त्र दलको स्थापनापछि काजी लेण्डुप दोर्जी भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको निमन्त्रणा स्वीकार गर्दै उनलाई भेट्न दिल्ली गए । नेहरुले लेण्डुपलाई आफ्नै निवासमा आतिथ्यता प्रदान गरेका थिए । नेहरु सिक्किमलाई भारतमा गाभ्न चाहन्थे । त्यसका लागि सिक्किमभित्रै राम्रो जनाधार भएको कुनै पात्रको खोजीमा थिए । सम्भवतः नेहरुले लेण्डुपलाई आफ्नो अभीष्ट पूरा गराउने उपयुक्त पात्र ठानेको हुनुपर्छ । त्यसैले नेहरुले लेण्डुपलाई ठूलो आश्वासन दिएर आवश्यक परेको जुनसुकै प्रकारको सहयोग गर्न आफू तयार रहेको वचन पनि दिएका थिए भनिन्छ । नेहरुसँगको गोप्य मन्त्रणापछि दिल्लीबाट फर्केका लेण्डुप राजतन्त्र विरोधी भएर देखापरे । जुन दरबारले उनलाई विश्वास गरेका थियो, पढाएको थियो, बढाएको थियो र काजीको पदवी पनि दिएको थियो, उनी तिनै राजा र दरबारको विरोधमा उत्रिए । त्यही बेला (सन् १९६१ मा) सरकारले नागरिक अधिकारसम्बन्धी नयाँ रेगुलेसन जारी गर्यो । यसमा सिक्किममा वषौंदेखि बसोबास गर्दै आएका नेपालीहरूलाई हतोत्साहित गर्ने खालका प्रावधानहरू राखिएकोेले त्यसको चर्को विरोध भयो । विराधीहरूले सरकारका विरुद्धमा जनतालाई आन्दोलित पार्र्नेे ठाउँ पाए । यस विरोधले उत्कर्ष रूप लिएपछि त्यसलाई साम्य पार्न भारतले मध्यस्थताको भूमिका खेलेको थियो ।
सन् १९६७ मा भएको चुनावमा लेण्डुप दोर्जीको नेतृत्व रहेको सिक्किम नेशनल कांग्रेसले १८ सिटमध्ये ८ सिटमा जित हासिल गर्याे र सदनमा दह्रो प्रमुख प्रतिपक्षको भूमिकामा स्थापित गर्न सफल भयो । सन् १९७० मा काजी लेण्डुपलाई एक्जुकेटिभ काउन्सिलरमा नियुक्ति गरियो तर दुई वर्षपछि नै बर्खास्त गरियो । सिक्किमको राजनीतिमा यस्ता खेलहहरू भइरहे तर न देशले निकास पायो, न जनताको अवस्थामा पनि सुधार आयो । विकास, शान्ति, सुशासन र समृद्धिको कामना गर्ने जनताहरू निराश बनिरहे ।
सन् १९७२ अगष्ट १५ मा ग्यान्तोकमा भएको नेताहरूको भेलाले सिक्किम स्टेट कंग्रेससँग सिक्किम जनता पार्टीको विलय भई नयाँ ‘सिक्किम जनता कंग्रेस’ पार्टीको उदय भयो । सन् १९७३ मा पाँचौं चुनाव भयो तर त्यसमा विपक्षीहरूले सोचेजति सिट जिल्न सकेनन् । राजाको पक्षले भारी मत ल्यायो । भारतको इशारामा प्रतिपक्षीहरूले चुनावमा धाँधली भएको आरोप लगाए । यही आरोपमा केसी प्रधानको नेतृत्वरहेको सिक्किम जनता कंग्रेस र काजी लेण्डुपको नेतृत्व रहेको सिक्किम नेशनल कंग्रेसले चुनाव परिणाम्लाई अस्वीकार गर्ने घोषणा गरे । नयाँ सरकार बन्यो तर विरोधीहरूले विभिन्न आरोपहरू लगाउँदै देशव्यापी रूपमा प्रदर्शन गर्न थाले ।
जनता भड्काउने कार्य गरेको भन्दै नयाँ सरकारले काजी लेण्डुपलगायत विपक्षीहरूलाई वारेन्ट नोटिस जारी गर्यो । कजिनी एलिजा मारियाको शङ्कास्पद भूमिकाका कारण उनलाई सिक्किमबाट निकाला गरियो । यसैबीच सिक्किम जनता कंग्रेस र सिक्किम नेशनल कंग्रेसका बीच संयुक्त बैठक भयो र उनीहरू साझा एजेण्डामा सहमति जुटाउन सफल पनि भए । उनीहरूले सिक्किमबाट राजतन्त्रात्मक व्यवस्था हटाई प्रजातान्त्रिक व्यवस्था कायम गर्र्ने निर्णय गरे र देशव्यापी रूपमा विरोधका कार्यक्रमहरूको आयोजना गरे । दलहरूको यस प्रकारका गतिविधिका अगाडि राजतन्त्र शिथिल बन्दै गयो ।
दुई ध्रुवमा जनमत
देश सिक्किमलाई स्वतन्त्र राष्ट्रका रूपमा अक्षुण्ण राख्ने वा भारतमा विलय गराउने भन्ने दुई धु्रवमा बाँडियो । राजा चोग्याल जस्तोसुकै मूल्य चुकाएर भएपनि सिक्किमलाई एक स्वतन्त्र राष्ट्रका रूपमा अक्षुण्ण राख्न चाहन्थे तर लेण्डुपलगायत विपक्षीहरू त्यसको विरोधमा थिए । त्यसैले राजालाई आफ्नो एजेण्डा मान्न बाध्य गराउन विरोधीहरूले हजारौं मानिसहरू जम्मा गरेर राजदरबार घेरे । अन्ततः राजा दलका प्रतिनिधिहरूसँग वार्ता गर्न राजी भए । यस वार्तामा भारत सरकारका तर्फबाट पनि प्रतिनिधित्व गराइएको थियो । यसरी ८ मे १९७३ का दिन राजा, विपक्षीहरू र भारतका प्रतिनिधिका बीच केही महत्वपूर्ण सम्झौता सम्पन्न भयो । यस सम्झौतापछि लामो समयदेखिको अशान्त रहेको सिक्किममा शान्ति छायो ।
तर देशमा शान्ति स्थापनाले मात्र विरोधीहरूको अभीष्ट पूरा भएको थिएन । सन् १९७३ अगष्टमा सिक्किम जनता कंग्रेस र सिक्किम नेशनल कंग्रेस एकआपसमा विलय भई ‘सिक्किम कंग्रेस’ बन्यो । यसको अध्यक्षमा काजी लेण्डुप चुनिए भने केसी प्रधान उपाध्यक्ष भए । यस पार्टीको मूल उद्देश्य सिक्किमबाट सामन्ति शासनको अन्त्य गर्दै भारतमा विलय गराउनु थियो । सिक्किम भारतमा विलय नहुञ्जेल विरोधीहरू शान्त हुनेवाला थिएनन् । भारतका गुप्तचरहरू पनि यही दिशामा क्रियाशील थिए ।
सिक्किम कंग्रेसको ऐतिहासिक जित
त्रिपक्षीय सम्झौता अनुसार भारतका इलेक्सन चिफको निरीक्षणमा सन् १९७४ अप्रिल १४ देखि १९ सम्म व्यवस्थापिका सभाको चुनावमा निर्धारित ३२ सिटमध्ये ३१ सिटमा सिक्किम कंग्रेसले जित हासिल गर्यो । काजी लेण्डुप दोर्जी सिक्किमका प्रधानमन्त्री भए तर उनी राजासँग बदला लिन चाहन्थे । त्यसैले सिक्किम स्वतन्त्र राष्ट्र हुँदाहुँदै पनि भारतलाई सिक्किममा गभर्नर राख्न प्रेरित गरे र सिक्किमका राजालाई निरङ्कुश र क्रुर भन्दै सिक्किमलाई भारतमा विलय गराएर एक प्रान्तीय राज्यका रूपमा राख्न भारतको संसदलाई आह्वान गरे । यो नै लेण्डुपको देशप्रतिको ठूलो गद्दारी थियो ।
सिक्किमको विलय
चुनावपछि काजी लेण्डुप दोर्जी सिक्किमका शक्तिशाली प्रधानमन्त्री बनेका थिए । अब उनी जे चाहन्थे, त्यही निर्णय गराउन सक्थे । उनले देशबाट राजतन्त्रको खारेजीकोे निर्णय सन् १९७५ मार्च २७ मा बसेको मन्त्रिपरिषदको बैठकबाट गराए । बैठकमा उनले स्वतन्त्र सिक्किम र राजतन्त्रको भविष्यका बारेमा जनमत गराउने पनि निर्णय गराए तर जनमतको निर्णय आउनुअघि नै अर्थात् अप्रिल ६ तारिखका दिन पाँच हजार भारतीय सेनाले राजा चोग्यालको राजदरबार घेरी उनलाई दरबारभित्रै नजरबन्द गरे । सिक्किमको स्वतन्त्र हैसियत गुम्यो ।
नयाँ मन्त्रिमण्डलको निर्णयबमोजिम १९७५ अप्रिल १४ तारिखका दिन सिक्किममा नाममात्रको जनमत सङ्ग्रह पनि भयो । यस जनमत सङ्ग्रहको जनादेशलाई आधार मान्दै लेण्डुपले ३२ सदस्यीय संसदमा सिक्किमलाई भारतमा विलय गराउने प्रस्ताव पेश गरे । निर्वाचित सदस्यहरूले यस प्रस्तावका बारेमा राम्ररी विमर्श पनि गर्नै नपाई भारतले तयार पारेको विलयसम्बन्धी प्रस्ताव सर्वसम्मत ढङ्गबाट पारित भएको घोषणा गरियो । यसरी लामो समयदेखि एउटा पृथक अस्तित्व बनाउन सफल र स्वतन्त्र पहाडी मुलुक सिक्किम १९७५ अप्रिल २६ तारिखदेखि भारतको २२औं राज्यका रूपमा विलय भयो । भारतको संसदले भने त्यसको विधिवत घोषणा १९७५ मे १६ तारिखका दिन गर्योे ।
लेण्डुपलाई आत्मग्लानि : न्याउरी मारी पछुतो
सिक्किमलाई भारतमा विलय गराएपछि काजी लेण्डुप दोर्जी सिक्किमका मुख्य मन्त्री बने र उनका विरोधीहरूलाई निर्ममतापूर्वक दमन गरे । राजा चोग्याल पाल्देनलाई जेलमा हाले । स्वतन्त्र सिक्किम किस्तीमा राखेर भारतलाई सुम्पने लेण्डुपलाई सुरुमा केन्द्र सरकारले ज्वाइँलाई जस्तै सम्मान दियो तर विस्तारै काजी लेण्डुपको चर्चा सेलाउँदै गयो । भारत सधैं लेण्डुपलाई त्यही रूपमा राख्न चाहँदैनथ्यो र त्यही अनुसार वातावरण बनाउँदै थियो । सन् १९७९ मा भारतको एउटा प्रान्तका रूपमा सिक्किममा चुनाव हुँदा लेण्डुपको पार्टी सिक्किम कंग्रेसले एक सिट पनि जित हासिल गर्न सकेन । काजी लेण्डुपले लज्जाजनक पराजय भोगे । लेण्डुपको पराजय हुनमा केन्द्रीय सरकारकै हात थियो, त्यो कुरा लेण्डुपले नबुझ्ने कुरै थिएन । त्यसपछि मात्र लेण्डुपले उनीमाथि धोका भएको थाहा पाए तर उनीसँग न्याउरी मारी पछुतो हुनुबाहेक बाँकी केही थिएन । जसका इशारामा उनले आफ्नै देशमाथि गद्दारी गरे, उनीहरूले नै लेण्डुपलाई ‘जसलाई जहिले पनि गद्दारी गर्न सक्ने मान्छे’ भनेर आलोचना गरेको सुनेपछि त उनी राजनीतिबाटै विरक्तिए र सिक्किमबाट पलायन नै भए । यसरी देशमाथि गद्दारी गरेर भए पनि सधैं सत्तामा टिकिरहने लेण्डुपको सपना सदासदाका लागि चकानाचुर भयो ।
(यो लेख यु–ट्युब, हिष्ट्री इन नेपाल, फलैंचा इन्टरटेनमेण्ट तथा अन्य सामाजिक सञ्जालहरू आदिको सहयोगमा तयार पारिएको हो ।)