नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा नेपाल अब फुटको संघारमा पुगेको संकेत गरेका छन्। थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन। यो नैसर्गिक सत्य हो।’
उनले यो सत्यलाई जान्दा जान्दै पनि एकता गरेको तर गतिहीन भएको जनाएका छन्। थापाले लेखेका छन्। ‘यो सत्य नबुझेको होईन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो। गतिहीन नै होला भन्ने सोचिएन।’
उनले राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई अल्छी घोडाको संज्ञा दिएका छन्। थापा लेख्छन्, ‘दुई अल्छी घोडाको बिचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ?च्यापिएर थला पर्न बेर छैन।’

