नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । गुरुङले २७ गते विहीबार विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् ।
प्रदेशसभा बैठक २७ गते १२ बजेबाट सुरु हुनेछ । प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । अल्पमतको सरकार भएकाले उनले एक महिनाभित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
विश्वासको मत लिँदा २ दिनअघि जानकारी दिनुपर्ने व्यवस्थाअनुसार उनले उक्त पत्र सचिवालयमा पठाएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले बताए ।
आइतबार सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद थमौती गरिदिएपछि गण्डकीमा सत्तापक्ष र प्रतिपक्ष दुबै दलहरु बहुमत सिद्ध गर्न नसक्ने स्थितिमा पुगेका छन् ।
नेकपा एमाले र विपक्षी कांग्रेसलगायत पार्टीहरू आ–आफ्नो नेतृत्वमा सरकार टिकाउन र भत्काउन बहुमत पुरर्याउने योजनामा लागे पनि सफल हुन सकेका छैनन् ।
सत्तारुढ एमालेले आफ्नो नेतृत्वको सरकार टिकाउन योजनावद्ध रुपमा लागे पनि बहुमत जुटाउन सकिरहेको छैन । उता, प्रमुख प्रतिपक्ष दल कांग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार बनाउने योजना बनाए पनि जनमोर्चाका तीन सांसद मध्येका कृष्ण थापाले गठबन्धनलाई सहयोग नगर्ने बताएसँगै बहुमत हासिल गर्न सकेको छैन ।

